पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको अहंकार गत वर्ष नै चक्नाचुर भइसकेको बताउनुभएको छ।
पार्टी कार्यालयमा आयोजित उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता कार्यक्रममा बोल्दै प्रचण्डले विगतका घटनाबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी कसैले पनि अहंकार नगरौँ। हाम्रो अहंकार पोहोर साल चक्नाचुर भएको छ।’
प्रचण्डले कम्युनिस्टहरूबीच बृहत् एकता आवश्यक रहेको बताउँदै विगतका एकता प्रयास असफल भए पनि कमजोरीबाट पाठ सिकेर पुनः एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो। आगामी एकता सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो।
आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सम्पूर्ण ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा केन्द्रित गरेको उहाँको भनाइ थियो। आफ्नो कार्यकालमा भ्रष्टाचारका ठूला काण्डहरू सार्वजनिक हुनुका साथै कारबाहीको प्रक्रिया पनि सुरु भएको उहाँले स्मरण गर्नुभयो।
त्यस्तै, आफूलाई सरकारबाट हटाएर एमाले र कांग्रेसबीच भएको गठबन्धनलाई उहाँले अलोकतान्त्रिक गठबन्धनको संज्ञा दिँदै त्यसलाई देशका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गर्नुभयो।







प्रतिक्रिया