अमेरिकामा सन् २०२६ को मध्यावधि निर्वाचनको मतगणना जारी रहँदा डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभा र सिनेटमा उत्साहजनक सुरुवात गरेको छ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार प्रतिनिधिसभाका ४३५ सिटमध्ये १३२ सिटको नतिजा सार्वजनिक हुँदा डेमोक्र्याटले ८५ सिट जितेका छन् भने १११ सिटमा अग्रता लिएका छन्। रिपब्लिकनले ४७ सिट जित्दा ७४ सिटमा अगाडि छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।
सिनेटतर्फ उत्तरी क्यारोलिनामा डेमोक्र्याटिक उम्मेदवार रोय कूपरले रिपब्लिकन उम्मेदवार माइकल व्हाटलीलाई पराजित गरेका छन्। जर्जियामा सिनेटर जोन ओसफ पुनः निर्वाचित भएका छन् भने न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी भएका छन्।
जर्जियाको गभर्नरमा डेमोक्र्याटिक उम्मेदवार किएशा लान्स बटम्स विजयी भएकी छन्। उनी अमेरिकाकी पहिलो अश्वेत महिला गभर्नर बनेकी छन्। यता, फ्लोरिडामा रिपब्लिकनले सिनेट र गभर्नर दुवै सिट जोगाएका छन्।
सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक छ। हाल रिपब्लिकनसँग ५३ र डेमोक्र्याटसँग ४५ सिट रहेकाले सदनको नियन्त्रणका लागि प्रतिस्पर्धा भइरहेको छ। यसपटक चुनाव भएका ३५ सिटमध्ये डेमोक्र्याटले ११ सिट जितेर सातमा अग्रता लिएका छन् भने रिपब्लिकनले पाँच सिट जितेर छ सिटमा अग्रता कायम गरेका छन्।
निर्वाचनमा महँगी, इरानसँगको युद्ध, आप्रवासन र लोकतन्त्रको अवस्था प्रमुख मुद्दा बनेका छन्। चुनावी परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षको राजनीतिक दिशा र विधायिकी योजनामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया