भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा मंगलबार राति गंगा नदीमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा उद्धार गरिएका सात जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरू खतरामुक्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीयका अनुसार बालबालिकाहरू छिमेकी गाउँमा आयोजित भोजमा सहभागी हुन जाँदै थिए। डुंगामा करिब १५ देखि २० जना सवार थिए। जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार दुर्घटनामा परेका सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका थिए। उद्धार गरिएका सातै जनाको पटनास्थित नालन्दा मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता भएकाहरूको खोजीका लागि बुधबार बिहानदेखि उद्धार कार्य पुनः सुरु गरिएको छ। डुंगा पुरानो र पहिले नै चिरा परेको भए पनि प्रशासनले मर्मत वा अर्को डुंगाको व्यवस्था नगरेको स्थानीयले आरोप लगाएका छन्। उनीहरूले उद्धारमा ढिलाइ भएको र अस्पतालमा पर्याप्त सुविधा नभएको गुनासो गर्दै जिल्ला प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन्।
घटनापछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका प्रत्येक परिवारलाई चार लाख भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई भेट्न घटनास्थल जाने बताएका छन्।
दुर्घटनामा ज्यान गुमाउने बालबालिकामा मीरा कुमारी, निशु कुमारी, अनिशा कुमारी, सुनीता कुमारी, आर्यन कुमार, मोहन कुमार, अमृता कुमारी, अंकिता कुमारी, पिंकी कुमारी, नमन कुमार, सिन्की कुमारी, भोनु कुमारी र सोनम कुमारी रहेका छन्।







प्रतिक्रिया