अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गरेर ‘ट्रम्प महासागर’ वा ‘अमेरिकाको महासागर’ राख्न सकिने बताएका छन्।
गत शनिबार टेनेसीको क्लार्क्सभिलमा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो प्रस्ताव ठट्टाको शैलीमा राखेका हुन्। ‘हामीसँग खाडी छ, सुन्दर ताल छ। अब हामीलाई नदी र महासागर पनि चाहिन्छ,’ उनले भने। महासागरको नाम ‘ट्रम्प महासागर’ वा ‘अमेरिकाको महासागर’ राख्न सकिने उनको भनाइपछि सहभागीहरूले हाँसो र तालीले प्रतिक्रिया दिएका थिए।
यसअघि ट्रम्पले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर ‘अमेरिकाको खाडी’ राख्ने निर्णय गरेका थिए। त्यस्तै, अमेरिका र क्यानडाबीच रहेको ओन्टारियो ताललाई ‘लेक अमेरिका’ नाम दिने घोषणा पनि गरेका थिए। मेक्सिकोको खाडीको नाम परिवर्तन गर्ने निर्णयले अमेरिका र मेक्सिकोबीच विवाद सिर्जना गरेको थियो।
शनिबारको र्यालीमा ट्रम्पले न्यूयोर्क हुँदै बग्ने हडसन नदी र टेनेसीको पश्चिमी सीमा निर्धारण गर्ने मिसिसिपी नदीको नाम भने परिवर्तन नगर्ने बताएका थिए।
गत महिना उनले न्यु मेक्सिको राज्यको नाम परिवर्तन गरेर ‘न्यु अमेरिका’ राख्न सुझाव दिएका थिए। तर, गत साता उनले नाम परिवर्तन गर्ने वा नगर्ने निर्णय त्यहाँका बासिन्दामा निर्भर रहने बताएका थिए।







प्रतिक्रिया