बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातपछि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पाटेकरलाई असहज महसुस भएपछि चिकित्सकीय टोली बोलाइएको थियो। उनलाई करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरिएको थियो। मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार उनको बिहान ५ः२० बजे निधन भएको हो। घटनापछि मेडिको–लिगल केस दर्ता गरिएको र पोस्टमार्टम गरिने जनाइएको छ।
पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि अभिनय गर्दै आएका थिए। ‘परिन्दा’का लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार तथा ‘क्रान्तिवीर’का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। ‘अग्निसाक्षी’का लागि पनि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए।
तीन राष्ट्रिय चलचित्र पुरस्कार जितेका पाटेकरलाई भारतीय चलचित्र क्षेत्रमा योगदानका लागि सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘नटसम्राट’, ‘वेलकम’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ।







प्रतिक्रिया