अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म ‘बाटुलो जून’को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।
शुक्रबार सार्वजनिक भएको टिजर तीन दिनमै युट्युब चार्ट्सको फिल्म विधाअन्तर्गत नेपालमा पहिलो नम्बरमा पुगेको हो। निर्माण पक्षका अनुसार टिजर नेपालसहित एक दर्जनभन्दा बढी देशमा ट्रेन्डिङमा छ। सोमबार दिउँसोसम्म टिजरलाई युट्युबमा साढे ६ लाखभन्दा बढी पटक हेरिएको छ।
भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’मा पुरानो समयको प्रेमकथा प्रस्तुत गरिएको छ। तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ। फिल्ममा अनमोल र प्रिन्सीको जोडी देख्न सकिनेछ। यो प्रिन्सीको डेब्यु फिल्मसमेत हो।
टिजरमा अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयको प्रशंसा भइरहेको छ। डेब्यु अभिनेत्री प्रिन्सीको उपस्थितिलाई पनि दर्शकले रुचाएको देखिन्छ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा राजेश श्रेष्ठको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ। जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता हुन्।
अनमोलको यसअघिको फिल्म ‘जेरी अनटप’ रिलिज भएको एक वर्षपछि ‘बाटुलो जून’ प्रदर्शनमा आउन लागेको हो।







प्रतिक्रिया