भारतले औद्योगिक विकासमा ठुलो लगानी गर्ने, बायोफार्मा र रेयर अर्थमा विशेष प्राथमिकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत सरकारले औद्योगिक विकासलाई तीव्र बनाउन ठुलो लगानी गर्ने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६/२७ का लागि बजेट प्रस्तुत गर्दै औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताएकी हुन् ।

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री सीतारमणले गत वर्ष अगस्ट १५ यता ३५० भन्दा बढी आर्थिक सुधार गरिएको जानकारी दिँदै आर्थिक वृद्धिलाई तीव्र बनाउन ६ प्रमुख क्षेत्रमा सुधार प्रस्ताव गरिएको उल्लेख गरिन् । उनका अनुसार सात रणनीतिक क्षेत्रमा उत्पादन वृद्धि, पुराना औद्योगिक क्षेत्रको पुनः विकास, एसएमईलाई ‘च्याम्पियन’ बनाउने, पूर्वाधार विस्तार, दीर्घकालीन सुरक्षा तथा स्थिरता र सहरी आर्थिक क्षेत्रको विकासमा सरकारले ध्यान केन्द्रित गर्नेछ ।

आगामी पाँच वर्षमा बायोफार्मा क्षेत्रमा १० हजार करोड रुपैयाँ लगानी गर्ने घोषणा गर्दै उनले स्वास्थ्य र औषधि उत्पादनलाई रणनीतिक क्षेत्रका रूपमा अघि बढाइने बताइन् । त्यस्तै पृथ्वीमा पाइने दुर्लभ खनिज (रेयर अर्थ) को उत्खनन र उपयोगका लागि पनि विशेष लगानी गरिनेछ ।

रेयर अर्थ विकासका लागि ओडिशा, केरल, आन्ध्र प्रदेश र तमिलनाडुलाई समेटेर ‘रेयर अर्थ म्याग्नेट करिडोर’ निर्माण गरिने भएको छ । साथै, इलेक्ट्रोनिक्स कम्पोनेन्ट्स उत्पादन प्रवर्द्धन गर्न ४० हजार करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।

सरकारको यो कदमले भारतको औद्योगिक क्षमता विस्तार, प्रविधि आत्मनिर्भरता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।