क्यानडाको केन्द्रीय बैंकका गभर्नर टिफ म्याक्लम ले अमेरिकासँगको नियममा आधारित व्यापारको युग अब समाप्त भएको गम्भीर घोषणा गरेका छन्। बुधबार ब्याजदर निर्धारणसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प का अनपेक्षित र संरक्षणवादी व्यापार नीतिका कारण पुरानो कूटनीतिक तथा आर्थिक ढाँचामा फर्किन अब सम्भव नरहेको बताएका हुन्।
बैंक अफ क्यानडाले हालको प्रमुख ब्याजदर २.२५ प्रतिशतमा यथावत राखेको छ। अमेरिकी भन्सार शुल्क, अनिश्चित व्यापार वातावरण र बढ्दो जोखिमका कारण ब्याजदर स्थिर राखिएको बैंकले जनाएको छ।
गभर्नर म्याक्लमले प्रधानमन्त्री मार्क कार्नी को धारणा समर्थन गर्दै क्यानडाले अब अमेरिकी संरक्षणवादको नयाँ वास्तविकतासँग जुध्न तयार हुनुपर्ने बताए। प्रधानमन्त्री कार्नीले हालै विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै विगतको सम्झनामा सीमित रहेर रणनीति नबन्ने उल्लेख गर्दै क्यानडाजस्ता मध्यम शक्ति भएका देशहरूले आर्थिक सुरक्षाका लागि नयाँ बाटो खोज्नुपर्ने बताएका थिए।
क्यानडाको ७५ प्रतिशतभन्दा बढी निर्यात अमेरिका जाने भएकाले ट्रम्प प्रशासनका नीतिले अटो, स्टिल, एल्युमिनियम र काठ उद्योगमा ठूलो असर पारेको छ। यसै वर्ष हुने अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (USMCA) को पुनरावलोकनले क्यानडाको अर्थतन्त्रमा थप अनिश्चितता सिर्जना गरेको छ। ट्रम्प प्रशासनले सम्झौता पूर्ण रूपमा परिवर्तन वा खारेज गर्न सक्ने संकेत दिएको छ।
यसैबीच, गभर्नर म्याक्लमले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को स्वतन्त्रतामाथि बढ्दो राजनीतिक दबाबप्रति पनि चिन्ता व्यक्त गरे। राष्ट्रपति ट्रम्पद्वारा फेडकी गभर्नर लिसा कुक लाई पदमुक्त गर्ने प्रयास र अध्यक्ष जेरोम पावेल माथि भइरहेको अनुसन्धानले विश्व वित्तीय बजारमा नकारात्मक असर पर्न सक्ने उनले चेतावनी दिए।
फेड अध्यक्ष पावेलले पनि मौद्रिक नीति राजनीतिक दबाब वा धम्कीका आधारमा सञ्चालन हुन नहुने भन्दै कडा प्रतिवाद गरेका छन्।







प्रतिक्रिया