मलेसियामा कार्यरत नेपाली सेक्युरिटी गार्ड न्यूनतम तलबबाट वञ्चित, ओभरटाइम र बिदामा व्यापक बेथिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू सरकारले तोकेको न्यूनतम तलब (बेसिक स्यालरी) समेत नपाएको गुनासो गर्दै आएका छन्। मलेसियाले हाल न्यूनतम मासिक तलब १ हजार ७ सय रिंगिट तोकेको भए पनि धेरै नेपाली सुरक्षा गार्डले सो बराबरको तलब नपाएको बताएका छन्।

विभिन्न सेक्युरिटी कम्पनीमार्फत कार्यरत नेपाली गार्डहरू अहिले १ हजार ५ सय रिंगिट बेसिक तलब र करिब ७ सय रिंगिट ओभरटाइम गरी कुल २ हजार २ सय रिंगिट पाउने गरेको गुनासो गर्छन्। बढेको तलब अनुसार भने उनीहरूले कम्तीमा २ हजार ४ सय रिंगिट पाउनुपर्ने भए पनि त्यसअनुसार नपाएको उनीहरूको भनाइ छ।

एक सुरक्षा गार्डले अनलाइनखबरसँग टेलिफोनमा भने, “महिनाको ३० दिन दैनिक १२ घण्टा काम गर्दा २ हजार २ सय रिंगिट मात्र दिन्छन्, त्यसमा पनि विभिन्न शीर्षकमा काटेर आउँछ। सरकारले न्यूनतम तलब १५ सयबाट १७ सय पुर्‍याएको छ, तर हामीले पाउँदैनौं।”

मलेसियामा सेक्युरिटी गार्डको काम गर्दै आएका देवराज फुयालले १ सय २० घण्टाको ओभरटाइमबापत जम्मा ५ सय रिंगिट मात्र दिइने गरेको बताए। मनकुमार सन्बका अनुसार महिनाभरि दैनिक १२ घण्टा काम गर्दा कम्तीमा २ हजार १ सय रिंगिट पाउनुपर्ने हो, तर कतिपय कम्पनीले त्योसमेत नदिने गरेका छन्।

त्यस्तै प्रभु यादवले तलबको पर्ची (पे–स्लिप) नै नदिइने गरेको गुनासो गरे भने उदास पाख्रिनले सेक्युरिटी कम्पनीहरूले तलब नबढाएको बताए। अर्का पीडित राकेश परियारले मलेसियामा सेक्युरिटी क्षेत्रमा धेरै बेथिति रहेको भन्दै म्यानपावर कम्पनीहरूले सामाजिक सञ्जालमा २ हजार २ सय रिंगिट तलबको विज्ञापन गरे पनि वास्तविक रूपमा निकै कम दिने गरेको बताए।

काम नहुँदा महिनौंसम्म राख्ने तर एक दिन बिदा बसे २ सय रिंगिटसम्म काटिने गरेको गुनासो पनि छ। दुर्गा मगरका अनुसार महिनामा ३० दिन नै १२ घण्टा काम गर्दा २ हजार २ सय रिंगिट भनिए पनि काटकटौतीपछि २ हजार १ सय २८ रिंगिट मात्र हात पर्छ।

“मलेसियामा सेक्युरिटी गार्डका अनेक दुःख छन्, हाम्रो गुनासो कसले सुनिदिने हो?” मगरले भने, “दूतावास भनेको नाम मात्र हो, हाम्रो समस्या कहिल्यै सुन्दैन।”

यद्यपि नेपाली दूतावास मलेसियाले भने अधिकांश सुरक्षा गार्डले न्यूनतम १ हजार ७ सय रिंगिट तलब पाउने गरेको दाबी गरेको छ। सार्वजनिक बिदा, अफ–ड्युटी र ओभरटाइममा केही समस्या देखिएको स्वीकार्दै दूतावासले ओभरटाइमको विषय समाधान गर्न समय लाग्ने जनाएको छ।

दूतावासका एक अधिकारीका अनुसार कतिपय कम्पनीले नियमअनुसार काम गरिरहेका भए पनि केहीले बिदा र ओभरटाइम नदिने समस्या देखिएको छ। हालसम्म न्यूनतम तलब नै नपाएको औपचारिक गुनासो भने नआएको उनको दाबी छ।

मलेसियामा हाल १ हजार १ सय २७ वटा सेक्युरिटी कम्पनीमार्फत एक लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन्। कम्पनीहरूबीच प्रतिस्पर्धा रहेकाले कतिपय गार्डले महिनामा ३ हजार रिंगिटसम्म कमाउने गरेको उदाहरण पनि छन्।

दूतावासले मागपत्र प्रमाणीकरणकै क्रममा न्यूनतम तलब, ओभरटाइम र सातामा एकदिन अनिवार्य बिदा कार्यान्वयनमा कडाइ गरिएको जनाएको छ। विगतमा महिनौंसम्म काम नदिई राख्ने समस्या पनि अहिले ९९ प्रतिशत समाधान भएको दाबी दूतावासको छ।

दूतावासका जनसम्पर्क अधिकृत जनप्रकाश गिरीले हालै सामाजिक सञ्जालमार्फत समस्या समाधानका लागि काम भइरहेको बताए। “एकैदिन समस्या समाधान हुँदैन, सही उजुरी आवश्यक छ,” उनले भने।

यसैबीच, सुरक्षा गार्डहरूले सातामा एकदिन आराम गर्नुपर्ने व्यवस्था भए पनि बिदा लिए तलब काटिने डरले पूरै महिना काम गर्नुपरेको गुनासो गरिरहेका छन्। साथै, कर्मचारी सञ्चय कोष (ईपीएफ) का नाममा मासिक ३५ रिंगिट कट्टी हुने विषयमा पनि उनीहरूले असन्तुष्टि जनाएका छन्।