अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन्। आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अमेरिका अघि नबढे रुस वा चीनले उक्त टापु कब्जा गर्न सक्ने चेतावनी दिए।
राष्ट्रपति ट्रम्पका अनुसार आर्कटिक क्षेत्रमा रुस र चीनको सैन्य गतिविधि बढिरहेका बेला खनिज स्रोतले भरिपूर्ण डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डमाथि नियन्त्रण अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण छ। ‘यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने, रुस वा चीनले लिनेछन् र म त्यसो हुन दिन्नँ,’ उनले भने।
यद्यपि हालसम्म कुनै पनि देशले औपचारिक रूपमा ग्रिनल्यान्डमाथि दाबी गरेको छैन। ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रसँग सम्झौता गर्न आफू खुला रहेको बताउँदै ‘तर कुनै न कुनै तरिकाले ग्रिनल्यान्ड हामीसँग हुनेछ’ भन्ने अभिव्यक्ति दिएका छन्।
ट्रम्पको भनाइप्रति डेनमार्क र अन्य युरोपेली सहयोगीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। उत्तर अमेरिका र आर्कटिकबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको ग्रिनल्यान्डमा दोस्रो विश्वयुद्धदेखि नै अमेरिकी सैन्य आधार रहेको छ।
सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो। पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्ध खुकुलो बनाउने विषयमा बहस भए पनि अधिकांश बासिन्दा र राजनीतिक दलहरूले अमेरिकी नियन्त्रण अस्वीकार गर्दै आफ्नै भविष्य आफैँले तय गर्ने अधिकारमा जोड दिँदै आएका छन्।
तर ट्रम्पले यस दृष्टिकोणलाई चुनौती दिँदै ‘ग्रिनल्यान्डले सम्झौता गर्नुपर्छ किनभने ग्रिनल्यान्डले रुस वा चीनलाई आफ्नो नियन्त्रणमा गएको देख्न चाहँदैन’ भन्दै ठट्टामिश्रित शैलीमा टिप्पणी गरेका छन्। उनले ग्रिनल्यान्डको सुरक्षालाई व्यङ्ग्य गर्दै ‘त्यहाँको रक्षा दुईवटा कुकुर स्लेज मात्रै हुन्’ भनेका छन्।
यसअघि डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्डमाथि बल प्रयोग गरेर नियन्त्रण गर्ने कुनै पनि प्रयासले आठ दशकदेखि कायम ट्रान्सएटलान्टिक सुरक्षा सम्बन्धमा गम्भीर असर पार्ने चेतावनी दिएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले ‘यदि यसले नाटोलाई असर गर्छ भने, असर गर्छ’ भन्दै आफ्नो अडान दोहोर्याएका छन्।







प्रतिक्रिया