इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शनबीच अमेरिकाले सम्भावित सैन्य हस्तक्षेपका विकल्पबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको खुलासा भएको छ। न्युयोर्क टाइम्सका अनुसार, इरानी सरकारले प्रदर्शनकारीविरुद्ध बल प्रयोग जारी राखेमा ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्ने विषयमा गम्भीर रूपमा विचार गरिरहेका छन्। यद्यपि, हालसम्म अन्तिम निर्णय भने भइसकेको छैन।
अमेरिकी अधिकारीहरूबीचको छलफलमा इरानमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे कुराकानी भएको पुष्टि गरिएको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यसैबीच, ट्रम्पले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘इरान यसअघि कहिल्यै नभएको जस्तो स्वतन्त्रताका लागि तत्पर छ, अमेरिका मद्दत गर्न तयार छ’ भन्ने टिप्पणी गरेका छन्।
अमेरिकाले इरानमा सैन्य हमलाबारे छलफल गरिरहँदा इजरायल पनि उच्च सतर्कतामा रहेको छ। रोयटर्सका अनुसार, इजरायली सुरक्षा निकायहरूले परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाएका छन्। गत जुनमा इजरायल र इरानबीच १२ दिन लामो युद्ध भएको थियो, जसमा अमेरिकाले पनि इजरायलसँग मिलेर हवाई आक्रमण गरेको थियो। यही सन्दर्भमा शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फोन वार्ता भएको छ।
यसैबीच, इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले अमेरिकाले प्रदर्शनकारीहरूको पक्ष लिँदै इरानमा आक्रमण गरे अमेरिकी सेना र इजरायल दुवै इरानको निशानामा पर्ने चेतावनी दिएका छन्। इरानले इजरायलविरुद्ध प्रत्यक्ष धम्की दिएको यो पहिलो घटना भएको बताइएको छ।
प्रदर्शनका क्रममा मानवीय क्षति पनि बढ्दै गएको छ। टाइम पत्रिकाले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै अहिलेसम्म कम्तीमा २१७ प्रदर्शनकारी मारिएको दाबी गरेको छ। समाचार एजेन्सी एपीका अनुसार २ हजार ६०० भन्दा बढी आन्दोलनकारी पक्राउ परिसकेका छन्।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले प्रदर्शनकारीविरुद्ध कडा अडान लिँदै आएका छन्। महान्यायाधिवक्ता मोहम्मद मोवाहेदी आजादले विरोध प्रदर्शनमा सहभागी हुनेहरूलाई ‘ईश्वरका शत्रु’ मानिने र उनीहरूलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने चेतावनी दिएका छन्।
इरानबाहिर पनि विरोध प्रदर्शन फैलिएको छ। बेलायतको लन्डनस्थित इरानी दूतावासबाहिर भएको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीले इस्लामिक गणतन्त्र इरानको झण्डा हटाएर १९७९ को इस्लामिक क्रान्तिअघि प्रयोग गरिएको सिंह र सूर्यको प्रतीक भएको झण्डा फहराएका थिए। उक्त झण्डा केही समयपछि हटाइएको थियो।
लन्डन प्रहरीले घटनापछि दूतावासको सुरक्षा बढाइएको जानकारी दिएको छ। घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ भने अर्का एक संदिग्धको खोजी भइरहेको जनाएको छ।







प्रतिक्रिया