नोबेल शान्ति पुरस्कार हस्तान्तरण, बाँडफाँड वा फिर्ता लिन नमिल्ने नोबेल समितिको स्पष्टोक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने स्पष्ट पारेको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि समितिले यस्तो प्रतिक्रिया दिएको हो।

समाचार संस्था रोयटर्सका अनुसार, नर्वेली नोबेल समिति र नर्वेली नोबेल संस्थानले संयुक्त विज्ञप्ति जारी गर्दै नोबेल फाउन्डेसनको नियमावली उद्धृत गरेका छन्। विज्ञप्तिमा एकपटक पुरस्कार घोषणा भइसकेपछि त्यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न नमिल्ने उल्लेख गरिएको छ। समितिले यो निर्णय अन्तिम र स्थायी हुने तथा यसमा पुनरावेदनको व्यवस्था नरहेको पनि स्पष्ट पारेको छ।

समितिले पुरस्कार प्राप्त गरिसकेपछि विजेताहरूले गर्ने गतिविधि वा सार्वजनिक अभिव्यक्तिबारे कुनै टिप्पणी नगर्ने परम्परा रहेको जनाएको छ।

गत सोमबार फक्स न्यूजमा सन ह्यानिटीसँगको अन्तर्वार्तामा माचादोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार अर्पण गर्नु भेनेजुएली जनताका तर्फबाट कृतज्ञताको प्रतीक हुने बताएकी थिइन्। उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउन ट्रम्पले खेलेको भूमिकालाई कारण देखाएकी थिइन्।

अन्तर्वार्तामा सोधिएको प्रश्नमा माचादोले हालसम्म औपचारिक रूपमा यस्तो प्रस्ताव नभएको स्पष्ट गरेकी थिइन्। उता, लामो समयदेखि नोबेल शान्ति पुरस्कार जित्ने इच्छा व्यक्त गर्दै आएका ट्रम्पले माचादोबाट प्रस्ताव आए स्वीकार गर्नु आफ्नो लागि सम्मानको विषय हुने बताएका छन्।

माचादोलाई मादुरो पक्षधर अधिकारीहरूले सन् २०२४ को आम निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाएका थिए। उनको समर्थनमा उठेका उम्मेदवार विजयी भएको दाबी गरिए पनि मादुरोले भने आफ्नो जित भएको घोषणा गरेका थिए। स्वतन्त्र पर्यवेक्षकहरूले गरेको चुनावी लेखापरीक्षणले सरकारी नतिजामा अनियमितता देखिएको पुष्टि गरेको थियो।