अमेरिकी राष्ट्रपति ट्रम्प र भेनेजुएलाकी विपक्षी नेता मचाडोबीच अर्को हप्ता वासिङ्टनमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गरेका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मचाडो भेटका लागि आगामी हप्ता वासिङ्टन आउने जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति र मचाडोबीचको यो पहिलो औपचारिक भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्क लगिएको एक सातापछि हुन लागेको हो। उनीहरूलाई लागुऔषध र हतियारसम्बन्धी अभियोगमा मुद्दा चलाइएको जनाइएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले मचाडोमा भेनेजुएलाको नेतृत्व गर्ने क्षमता नभएको टिप्पणी गर्दै अमेरिका चाहेको खण्डमा भेनेजुएलालाई वर्षौँसम्म नियन्त्रण गर्न सक्ने सुझाव दिएका थिए। उनले फक्स न्यूजलाई भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको र तत्काल नयाँ निर्वाचन गर्ने अवस्थामा नरहेको पनि बताएका छन्।

यसैबीच, मचाडोले आफूले पाउने नोबेल पुरस्कार राष्ट्रपति ट्रम्पसँग बाँड्न प्रस्ताव गरेको उल्लेख गर्दै ट्रम्पले यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान हुने प्रतिक्रिया दिएका छन्।