अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघीय र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित अन्तर्राष्ट्रिय निकायबाट अमेरिका बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन्। यससँगै ती संस्थाहरूले पाउँदै आएको अमेरिकी रकम र सहयोग अब रोकिनेछ।
ह्वाइट हाउसले वक्तव्यमा ती संस्थाहरू अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने भएकाले बाहिरिन लागेको जनाएको छ। यसमा भारत र फ्रान्स नेतृत्वको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, प्रकृति संरक्षणको अन्तर्राष्ट्रिय संघ (IUCN), जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल, संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, शान्ति निर्माण आयोग, संयुक्त राष्ट्र ऊर्जा र जनसंख्या कोष जस्ता प्रमुख निकायहरू पनि समावेश छन्।
अमेरिकाले यी निकायहरूलाई ‘उग्र जलवायु नीति, वैश्विक शासन प्रणाली र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग असंगत’ कार्यक्रम अघि बढाउने आरोप लगाएको छ। ह्वाइट हाउसका अनुसार सदस्यता समीक्षा पछि लिइएको यो कदम अमेरिकी करदाताको धनराशी विश्वव्यापी एजेन्डालाई रोक्न र अन्य प्राथमिकतामा खर्च गर्नको लागि गरिएको हो।
यसअघि ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन, यूनेस्को, प्यालेस्टिनी शरणार्थी कोष र मानव अधिकार परिषद् जस्ता निकायमा सहयोग रोकिसकेको थियो। संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिबाट बाहिरिनु ट्रम्पको जलवायु विरोधी अभियानको पछिल्लो कदम हो।
पूर्व ह्वाइट हाउस जलवायु सल्लाहकार गिना म्याकार्थीले यस कदमलाई ‘दूरदर्शिताको अभाव र लज्जास्पद निर्णय’ भनेकी छिन्। उनका अनुसार ट्रम्प प्रशासनले अमेरिकाको दशकौँको विश्व नेतृत्वलाई कमजोर बनाएको छ।
यस निर्णयसँगै अब अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्था र निकायबाट बाहिरिने भएको छ, जसले जलवायु, श्रम, बसाइँसराइ, शान्ति निर्माण र मानव अधिकारसम्बन्धी काम गर्ने निकायहरूलाई असर पार्ने देखिन्छ।







प्रतिक्रिया