‘इएनजी’ नामको समूहको धम्कीपत्रले सुरक्षामा खलबली, प्रमुख पदाधिकारीसम्मलाई ज्यान मार्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केही दिनअघि मिति उल्लेख नगरी सार्वजनिक गरिएको दुई पृष्ठ लामो पत्रले देशभर ठूलो हलचल र सुरक्षा निकायमा चिन्ता बढाएको छ। पत्रमा अत्यन्त संवेदनशील विषय र धम्कीपूर्ण सामग्री उल्लेख गरिएको छ, जसले काठमाडौं उपत्यकाको सुरक्षा संयन्त्रलाई अलर्ट बनाएको हो।

उपत्यका प्रहरी कार्यालयका अनुसार धम्कीपत्र सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको छ र मातहतका सबै इकाइलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ। प्रारम्भिक अनुसन्धानमा पत्र बनाउने व्यक्तिले आवाज परिवर्तन गरी भिडियो तयार पारेको र लोकेसनसमेत परिवर्तन गरी आतंक फैलाउने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ।

‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (इएनजी)’ नामबाट जारी पत्रमा ‘चेयरमेन’ भनेर प्रकाश पाठकको नाम राखिएको छ। पत्रमा अख्तियार प्रमुख प्रेमकुमार राई, पूर्वप्रमुखहरू, ठूला व्यापारीदेखि राजनीतिक नेतासम्मका थुप्रै व्यक्तिलाई धम्की दिएको उल्लेख छ।

पत्रको केही घन्टापछि प्रकाश पाठक नाम बताउने व्यक्तिले भिडियो सन्देशमार्फत अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन्। बहालवाला प्रमुखलाई यसरी ज्यानमार्ने धम्की आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीसँग समन्वय गरेर सुरक्षा उपाय कडा पारेको छ।

टंगालस्थित अख्तियार कार्यालयमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरका अधिकृतलाई बोलाएर पूरा घटना विवरण प्रस्तुत गरिएको थियो।

प्रहरी स्रोतका अनुसार धम्की दिने व्यक्तिको पृष्ठभूमि आपराधिक देखिन्छ र उनी नेपालमा नभई विदेशमै बसेर यस्तो गतिविधि गर्दै आएको आशंका छ। अघिल्ला विभिन्न आपराधिक घटनामा पनि उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ।

हाल घटना विस्तृत अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ। भिडियोमा उक्त व्यक्तिले आफू भारतमा रहेको दाबी गर्दै ‘एक घण्टामा ३–४ ठाउँ बदलिन्छु, प्रहरीले भेट्नै सक्दैन’ भन्दै सुरक्षा संयन्त्रलाई चुनौती दिएको छ।