ह्यात होटलको क्यासिनोमा लुटपाट: जेनजी आन्दोलनका दुई सदस्य खुकुरीसहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा सञ्चालन भइरहेको प्राइड क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू दावा सेट्टी र ‘रणे’ का नामले चिनिने रञ्जित खड्गी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

परिसरका एसएसपी रमेश थापाले उजुरी आएपछि तत्कालै दुवै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। प्रहरीले उनीहरूलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

घटना २४ भदौमा भएको हो। प्रहरीका अनुसार क्यासिनोमा खुकुरी बोकेर प्रवेश गरेको दुवैजनाको भिडियो पनि सार्वजनिक भएको छ, जसको आधारमा अनुसन्धानलाई थप सुदृढ बनाइएको एक अनुसन्धान अधिकृतले बताए।

प्राइड क्यासिनोमा भएको लुटपाटको यस घटनाले राजधानीको सुरक्षाप्रति थप प्रश्न उठाएको छ भने प्रहरीले यसमा संलग्न अन्य सम्भावित व्यक्तिहरूको पनि खोजी जारी राखेको जनाएको छ।