भारत र अमेरिकाबीच भइरहेको द्विपक्षीय व्यापार सम्झौता अझै निष्कर्षमा पुग्न सकेको छैन। भारतीय मिडियाका अनुसार भारतले व्यापार वार्ताका क्रममा अमेरिकासमक्ष आफ्नो अन्तिम प्रस्ताव प्रस्तुत गरेको छ। भारतले हाल लगाइएको समग्र ५० प्रतिशत कर घटाएर १५ प्रतिशतमा झार्न र रूसी कच्चा तेल खरिदका कारण लगाइएको थप २५ प्रतिशत जरिवाना पूर्ण रूपमा हटाउन प्रस्ताव गरेको हो।
दुई देशबीच जारी वार्ताबाट नयाँ वर्षमा ठोस निर्णय आउने अपेक्षा गरिएको छ। भारत र अमेरिकाबीच व्यापक र स्थायी द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता निरन्तर जारी रहेको छ र चाँडै सहमति हुन सक्ने संकेत गरिएको छ।
यसै साता भारत र अमेरिकाका व्यापार टोलीहरू दिल्लीमा भेटघाट गरी वार्ता गरेका थिए। हालको छलफल मुख्यतः दुई विषयमा केन्द्रित छ – दीर्घकालीन व्यापार सम्झौता र अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत कर घटाउन वा हटाउनका लागि रूपरेखा सम्झौता।
अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करमध्ये २५ प्रतिशतलाई ‘पारस्परिक कर’ र बाँकी २५ प्रतिशतलाई रूसबाट तेल खरिद गरेको आरोपमा लगाइएको जरिवाना बताएको छ। अमेरिकाको दाबी छ कि भारतको रूसी तेल खरिदले रूसलाई युक्रेन युद्ध जारी राख्न आर्थिक सहयोग पुगेको छ। भारतले भने यस्तो जरिवाना अनुचित भएको भन्दै तत्काल हटाउनुपर्ने अडान राख्दै आएको छ।
व्यापार सम्झौतामाथि छलफल भइरहेकै बेला भारतको रूसी तेल आयातमा उल्लेखनीय गिरावट आएको छ। अमेरिकी प्रतिबन्ध नोभेम्बर २१ देखि लागू भएपछि रोसनेफ्ट र लुकोइलजस्ता प्रमुख रूसी तेल कम्पनीहरूबाट हुने आयात घट्न थालेको हो।
नोभेम्बरमा प्रतिदिन करिब १.७७ मिलियन ब्यारेल रहेको रूसी तेल आयात डिसेम्बरमा घटेर करिब १२ लाख ब्यारेलमा झरेको छ। आगामी दिनमा यो आयात प्रतिदिन १० लाख ब्यारेलभन्दा कम हुन सक्ने अनुमान गरिएको छ।
युक्रेन युद्धपछि भारत रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बनेको थियो, जसलाई लिएर अमेरिकी प्रशासनले बारम्बार प्रश्न उठाउँदै आएको छ। अमेरिकी अधिकारीहरूले भारतको तेल खरिदले रूसलाई अप्रत्यक्ष आर्थिक सहयोग पुगेको आरोप लगाउँदै आएका छन्।







प्रतिक्रिया