क्यालिफोर्नियामा बच्चाको जन्मदिनको पार्टीमा ‘लक्षित’ गोलीबारी, ४ जनाको मृत्यु, १० जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्टकटन सहरमा शनिबार राति बालबालिकाको जन्मदिन मनाइरहेका बेला बैंक्वेट हलभित्र भएको सामूहिक गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। सान जोआकिन काउन्टी शेरिफ कार्यालयका अनुसार साँझ करिब ६ बजे लुसिल एभिन्यूको १९०० ब्लकमा घटना भएको हो।

शेरिफ कार्यालयकी प्रवक्ता हेदर ब्रेन्टका अनुसार गोली हानिएका पीडितमध्ये बालबालिकादेखि वयस्कसम्म परेका छन्। स्टकटनका उपमेयर जेसन लीले पनि सामाजिक सञ्जालमार्फत बालदिनको पार्टीकै बीचमा गोलीकाण्ड भएको पुष्ट गर्दै “आइसक्रिम पसलजस्तो स्थान परिवारका लागि खतराको क्षेत्र कहिल्यै हुन नहुने” टिप्पणी गरेका छन्। ब्रेन्टले घटनास्थल डेरी क्वीन रेस्तराँनजिक रहेको बताइन्।

अधिकारीहरूले यसलाई लक्षित आक्रमण हुनसक्ने अनुमान गरेका छन्। तर आक्रमणकारी अझै फरार छन्। शेरिफ कार्यालयले स्थानीयलाई घटनास्थल नजिक नजान आग्रह गर्दै, गोलीकाण्डसम्बन्धी कुनै जानकारी वा भिडियो फुटेज भए सम्पर्क गर्न अनुरोध गरेको छ।

उपमेयर लीले “हाम्रा आफ्नै बच्चाहरू, अभिभावक र छिमेकीहरू हिंसाको यस पीडाबाट गुज्रिनु अत्यन्त पीडादायी छ” भन्दै दु:खी परिवारहरू र प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाए।

स्टकटन क्यालिफोर्नियाको सेन्ट्रल भ्याली क्षेत्रभित्र पर्दछ, साक्रामेन्टोबाट करिब ५० माइल दक्षिणमा। यो घटनाअघि शुक्रबार पनि सान जोसको एक मलमा गिरोह–सम्बन्धी विवादबाट तीन जना गोली लागेर घाइते भएको थियो।