युक्रेनको नौसेना ड्रोनले कालो सागर हुँदै यात्रा गरिरहेका रुसको ‘स्याडो फ्लिट’सँग सम्बन्धित दुई तेल ट्यांकरमा आक्रमण गरेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्। बीबीसीले सार्वजनिक प्रमाणित भिडिओमा पानीमुनि दौडिरहेको नौसैनिक ड्रोन सीधै जहाजमा ठोक्किएर विस्फोट भएको देखिन्छ।
टर्कीका अधिकारीहरूका अनुसार निसाना बनाइएका ट्यांकर ‘काइरोस’ र ‘विराट’ नामका हुन्। दुवै ट्यांकर गाम्बियाको झण्डा बोकेर टर्कीको तट नजिकै शुक्रवार आक्रमणमा परेका हुन्। शनिबार ‘विराट’ पुनः निसानामा परे पनि कुनै जनहानि नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यक्रेनले गरेको यो आक्रमण रुसको तेल राजस्व स्रोत कमजोर पार्ने रणनीति भएको विश्लेषणकर्ता बताउँछन्। रुसको युद्धलाई निरन्तरता दिन महत्त्वपूर्ण मानिने यस्तै तेल निर्यातलाई ‘स्याडो फ्लिट’मार्फत पश्चिमी प्रतिबन्ध छल्दै आएको आरोप लाग्दै आएको छ।
रिपोर्टहरूका अनुसार यी ट्यांकरहरू पनि यही ‘स्याडो फ्लिट’—पश्चिमी प्रतिबन्धबाट बच्न रुसले प्रयोग गर्दै आएको सयौँ गुप्त ट्यांकरहरूको समूह—का हिस्सा हुन्।







प्रतिक्रिया