चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सुरु, १४ सफल शल्यक्रिया सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गर्दै मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ आयाम स्थापित गरेको छ। नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको सिएमसीले अत्याधुनिक ‘टुमाइ’ रोबोटिक प्रणालीमार्फत १४ वटा सफल शल्यक्रिया गरिसकेको जनाएको छ।

रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जन डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा सेवा सञ्चालन गरिएको हो। डा. गुरुङका अनुसार रोबोटिक सर्जरी परम्परागत चिरेर वा दूरबिन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा अत्यन्तै सटिक, सुरक्षित र आधुनिक हुन्छ।

उनका अनुसार सर्जनले कम्प्युटरद्वारा नियन्त्रण गरिने रोबोटिक हातहरूको सहायताले शल्यक्रिया गर्ने भएकाले मानवीय हातले गर्न नसक्ने सूक्ष्म प्रक्रियासमेत सहज र सुरक्षित रूपमा सम्भव हुन्छ। यस प्रविधिले न्यून रक्तस्राव, कम पीडा, छोटो अस्पताल बसाइँ र छिटो निको हुने सुविधा प्रदान गर्छ।

विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सम्बन्धी शल्यक्रियामा रोबोटिक प्रणाली अत्यन्त प्रभावकारी मानिन्छ। सानो प्वालमार्फत शल्यक्रिया हुने भएकाले शरीरमा दाग न्यून रहन्छ र जटिल उपचार प्रक्रियामा पनि उच्च सफलता दर रहने चिकित्सकहरूको भनाइ छ।

२५ करोड रुपैयाँभन्दा बढी लागतमा चीनको माइक्रोपोर्ट कम्पनीले निर्माण गरेको ‘टुमाइ’ रोबोटिक प्रणाली भित्र्याइएको सिएमसीका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिए। युरोपियन सेफ्टी सर्टिफिकेशन प्राप्त यस प्रविधिले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा र विश्वसनीयता कायम गरेको उनले बताए।

रोबोटिक सर्जरीको लागत सामान्य शल्यक्रियाभन्दा केही बढी पर्न सक्छ तर कम जोखिम, छिटो निको हुने दर र अस्पताल बसाइँ छोटिने भएकाले अन्ततः बिरामीको समग्र खर्च र समय दुवै बचत हुने चिकित्सकहरूको निष्कर्ष छ।