एकै दिन ३० हजार बढी नयाँ मतदाता थपिए, राष्ट्रिय परिचयपत्रबाट नाम दर्ता प्रक्रिया सुरु हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा मतदाता नाम दर्ता गर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ। निर्वाचन आयोगका अनुसार बुधबार मात्र ३० हजार ३७३ जना नयाँ मतदाता थपिएका छन्। बुधबार राति ८ बजेसम्मको विवरण अनुसार, देशभर २ लाख ३९ हजार ९४० जना नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेका छन्। आयोगले स्मरण गराएको छ कि मतदाता नामावली दर्ताको म्याद कात्तिक ३० गतेसम्म मात्र रहनेछ। म्याद सकिन तीन दिन मात्र बाँकी रहँदा दर्ता अभियान थप तीव्र भएको हो।

आयोगका अधिकारीहरूका अनुसार पछिल्ला दिनमा दर्ता प्रक्रियामा उल्लेखनीय वृद्धि देखिएको छ, जसको कारण राष्ट्रिय परिचयपत्रको तथ्यांक प्रयोग गर्न सुरु गरिएको हो। यसका लागि बुधबार राति नै आयोगले प्राविधिक तयारी र परीक्षण सम्पन्न गरेको जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचन तयारीबारे छलफल गरेकी थिइन्। छलफलमा आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नाम दर्ता सुरु गर्ने जानकारी गराएको थियो।

राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले आयोगलाई जैविक तथ्यांक उपलब्ध गराउन तयार रहेको बताए। यसबाट परिचयपत्र नम्बर भएका र स्वयं उपस्थित हुन नसक्ने मतदातालाई दर्ता गर्न सहज हुने आयोगको भनाइ छ।