नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनका लागि देशका १६ वटा राजनीतिक दललाई औपचारिक निमन्त्रणा दिएको छ। अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन विभिन्न दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको जनाएको छ।
समितिकी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मजदुर किसान पार्टी (नेमकिपा)लाई निमन्त्रणा पठाइएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तथा रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई पनि निम्तो गरिएको छ।
यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई पनि सहभागी हुन निमन्त्रणा पठाएको छ।
जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी तथा नागरिक उन्मुक्ति पार्टीलाई पनि अतिथि सूचीमा समावेश गरिएको समितिले जनाएको छ।
महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू सक्रिय छन्। मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास तथा स्वयंसेवक व्यवस्थापन समितिहरूले आफ्नो–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्। प्रचार समितिले विशेष लोगो र जिंगल सार्वजनिक गरिसकेको छ।
अतिथि सत्कार समितिले देश–विदेशमा रहेका आवश्यक अतिथिहरूलाई औपचारिक निमन्त्रणा पठाइसकेको बताउँदै, नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको जनाएको छ।







प्रतिक्रिया