नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं महाधिवेशन आगामी मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा विशेष समारोहसहित उद्घाटन हुनेछ। महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने पार्टीले जनाएको छ।
यस पटक महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब २ हजार ४ सय प्रतिनिधिहरू सहभागी हुनेछन्। एमालेसँग ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कुल ८१ जिल्ला कमिटी रहेका छन्। संगठित सदस्य संख्या र अनुपातका आधारमा प्रतिनिधि संख्या निर्धारण गरिएको हो। पार्टीले प्रतिनिधि सभा क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरेको छ।
एमालेमा २९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग तथा २५ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् रहेको छ। केन्द्रका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् भने बाँकी प्रतिनिधिहरू निर्वाचन प्रक्रियामार्फत छानिएका छन्। प्रदेश कमिटीबाट ५ जना, जसमा २ महिला अनिवार्य, गरी ४५ प्रतिनिधि चयन गरिएको छ।
त्यसैगरी, प्रतिनिधि सभा क्षेत्रको हकमा १२ सय सदस्य बराबर ४ जना, जसमा एक युवा (४० वर्षमुनिका) र एक महिला अनिवार्यसहित प्रतिनिधि निर्वाचित भएका छन्।
महाधिवेशनका लागि १० हजार स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरू २४ जनसंगठन र विभिन्न कमिटीमार्फत परिचालित हुनेछन्। राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) ले पनि आयोजनामा सहयोग गर्नेछ।
उद्घाटन स्थल सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफल रहेको खुल्लाचौरमा करिब दुई लाख सहभागी समाउन सकिने क्षमता रहेको छ। मञ्च, सुरक्षादेखि शौचालयलगायत संरचना निर्माणका लागि स्वयंसेवकहरू खटिएका छन्।
उद्घाटन दिनका लागि पूर्वबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा–टायल कारखानामा तथा पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघर–कमेरोटार क्षेत्रमा पार्किङ व्यवस्था मिलाइएको आयोजक समितिले बताएको छ।







प्रतिक्रिया