निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा निर्माण उद्योगमा अनावश्यक त्रास फैलाएको आरोप लगाएका छन्। सोमबार १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ठेक्का व्यवस्थापनको बहानामा निर्माण उद्योगीलाई राज्यले प्रताडित गर्न नहुने भन्दै आपत्ति जनाए।
अध्यक्ष सिंहका अनुसार सरकारले एकतर्फी रूपमा निर्माण उद्योगलाई दोषारोपण गर्दै जनतामाझ गलत धारणा बनाइरहेको छ, जसले उद्योगीको मानमर्दन भएको छ। उनले सार्वजनिक खरिद ऐनको दफा ६९(३) र ६९(८) तत्काल खारेज गरी निर्माण क्षेत्र चलायमान बनाउनुपर्ने माग पनि गरे। उनले चेतावनी दिँदै भने— “ठेक्का तोड्ने वातावरणले बैंकिङ क्षेत्रसम्ममा अन्योल छाएको छ, सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।”
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पनि पछिल्लो मन्दी, पुराना कानूनी त्रुटी तथा गैरकानूनी प्रवृत्तिका कारण निर्माण क्षेत्रमा समस्या देखिएको बताए। उनका अनुसार पछिल्ला दिनमा रुग्ण ठेक्का तोड्ने मात्र समाधान नभएर धेरै ठेक्का चेतावनीपछि पुनः कार्यान्वयनमा फर्किएका छन्।
निर्माण व्यवसायी महासंघले निर्माण दिवसको अवसरमा प्रभातफेरी र रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।







प्रतिक्रिया