प्राधिकरणले पञ्चकन्या उद्योगका उजुरी सम्बन्धी विवरण नियमन आयोगमा पठायो, पूर्ण सुनुवाइ अघि थप जानकारी मागिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पञ्चकन्या स्टील प्रालि र पञ्चकन्या प्लाष्टिक इन्डस्ट्री प्रालिले दर्ता गराएको उजुरीमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक विवरण विद्युत् नियमन आयोगमा बुझाएको छ।

यसअघि ती उद्योगको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै आयोगले प्राधिकरणलाई १५ दिनभित्र सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको थियो। ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता महसुल नतिरेको भन्दै प्राधिकरणले विद्युत् लाइन काटेपछि आफूहरूको हकमा अन्याय भएको दाबी गर्दै दुवै उद्योगले गत कात्तिक २० गते आयोगमा उजुरी दर्ता गराएका थिए।

आयोगका प्रवक्ता नविनराज सिंहका अनुसार प्राधिकरणबाट प्राप्त विवरणको आधारमा आयोगले पुनः थप विवरणका लागि पत्र पठाउनेछ। “प्राधिकरणको प्रारम्भिक विवरण आएको छ। अब हामीले थप स्पष्टीकरण माग्नेछौं र जवाफ आएपछि पूर्ण सुनुवाइ हुनेछ,” सिंहले बताए।

उनका अनुसार पञ्चकन्याका दुई उद्योगबाहेक अन्य कुनै उद्योगले पुनरावलोकनका लागि आयोगमा निवेदन नदिएको जानकारी दिएका छन्।