नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणले मुलुकभर नयाँ राजनीतिक समीकरण जन्माउन सक्ने संकेत गरेका छन्। शनिबार जनकपुरधाममा आयोजित ‘एकता सन्देश सभा’मा सम्बोधन गर्दै उनले नेकपा र मधेशवादी दलको समर्थनमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको घटनाले परम्परागत सत्ता समीकरणको अन्त्य भएको र नयाँ राजनीतिक युग सुरु भएको बताए।
प्रचण्डका अनुसार मधेशी जनता हरेक ऐतिहासिक आन्दोलनका अगुवाहरू मात्र होइन, अब समाजवादी आन्दोलनको नेतृत्व गर्ने क्षमता राख्छन्। जनकपुरधाममा देखिएको ठूलो उपस्थितिले मधेश–नेकपा एकता प्रक्रियालाई जनताले अनुमोदन गरेको उनको धारणा छ। उनले वर्षौंदेखि कायम विभेद अन्त्य गर्ने र आत्मनिर्णयको अधिकार कार्यान्वयन गर्ने लक्ष्यले नै विभिन्न पार्टीमा छुट्टाछुट्टै रहेका कम्युनिस्ट र समाजवादीहरूलाई एकताबद्ध गरी नेपाली कम्युनिष्ट पार्टी गठन भएको बताए।
उनले वैदेशिक रोजगारीको बाध्यता हटाउन कृषि क्रान्ति अनिवार्य भएको उल्लेख गर्दै “अर्को क्रान्ति कृषि क्रान्तिका लागि नै हुनुपर्छ” भने।
सभामा पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले २०६२/६३ को जनआन्दोलनले संस्थागत गरेको पूँजीवादी लोकतन्त्रले गरिब र सीमान्तकृत समुदायलाई झन् पछाडि धकेलिएको आरोप लगाए। समाजवादी लोकतन्त्र स्थापना नै नेकपा गठनको मुख्य उद्देश्य भएको धारणा राख्दै उनले विभेद र उत्पीडन अन्त्य गर्न नेकपा निरन्तर संघर्षरत रहने बताए।
त्यसैगरी, सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद “छिट्टै र डंका बजाएरै” आउने दाबी गरे। पूँजीवादी वा साम्यवादी होइन, समाजवादी व्यवस्था नै नेपालको लागि उपयुक्त भएको उनले बताए। जेनजी विद्रोह भ्रष्टाचार र बेथितीको परिणाम भएको उल्लेख गर्दै उनले माग पूरा नगरे अर्को विद्रोह पनि हुन सक्ने चेतावनी दिए।
नेपालका अनुसार जेनजी युवाहरूको भरोसा नेकपामाथि बढ्दै गएको छ र देशभरका सयौं युवा, महिला तथा वृद्धहरू पार्टीमा आकर्षित भइरहेका छन्।
कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।







प्रतिक्रिया