ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नेतृत्वमा ललितपुर महानगरपालिकाले देशभरका सबै स्थानीय तहमध्ये उत्कृष्ट काम गरेको दावी गरेका छन्। २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ का अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो दाबी प्रस्तुत गरेका हुन्।
मेयर महर्जनले आफूले चुनावअघि बोलेका सबै प्रतिबद्धता पूरा हुने गरी कार्यान्वयन भएको उल्लेख गर्दै, ललितपुर महानगरले वर्षमा दुई–तीन राष्ट्रिय पुरस्कार हात पार्नु आफ्नो कामको प्रमाण भएको बताए। उनले उत्कृष्ट कामको पहिचान दिलाउन मातहतका कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेविकाको महत्वपूर्ण भूमिकामा आभार व्यक्त गरे।
उनले भने, “हामीले गरेका कामको मूल्यांकन हामीले गरेका होइनौँ, देशभरका नागरिकले गरेका हुन्। ललितपुर महानगर भन्नासाथ राम्रो काम गर्ने पालिका भनेर सबैले चिन्छन्। स्वास्थ्य क्षेत्रमा तपाईहरूको सुझाव, योगदान र मेहनतकै कारण हामी निरन्तर राष्ट्रिय स्तरका पुरस्कारहरू पाउँदै आएका छौँ।”
हालै मात्र अपांगता क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै संघीय सरकारबाट ललितपुर महानगरपालिका पुरस्कृत भएको उल्लेख गर्दै मेयर महर्जनले टिमवर्ककै कारण निरन्तर सफलता पाउन सम्भव भएको बताए।
उनी थप्छन्, “हामी जे बोल्छौँ, त्यो पूरा गर्छौँ। टिम वर्ककै कारण ललितपुर महानगर निरन्तर सफल हुँदै गएको छ।”







प्रतिक्रिया