जनकपुरमा २७ वर्षीया महिलाको शंकास्पद मृत्यु, श्रीमान्–ससुरा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीमा एक २७ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ। गत बिहीबार राति रोशनी झा आफ्नै घरमा मृत फेला परेकी थिइन्। घरका सदस्यहरूले पासो लगाएर आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले सो घटनालाई योजनाबद्ध हत्या भएको आरोप लगाएको छ।

रोशनीको माइती घर धनुषाको नगराइन नगरपालिका–२ जटही हो। चार वर्षअघि प्रशान्त मिश्रसँग सामाजिक रीति अनुसार विवाह भएकी उनीका पति मधेश प्रदेशको नीति तथा योजना आयोगमा कर्मचारी हुन्।

माइती पक्षले रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गरेपछि प्रहरीले आइतबार दुबै जनालाई नियन्त्रणमा लिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार, घटना संदिग्ध देखिएकाले अनुसन्धान व्यापक रूपमा अघि बढाइएको छ।

उनका अनुसार मृतकको घाँटीमा डाम देखिएको छ तर वास्तविक मृत्यु कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने बताइएको छ। माइती पक्षले प्रमाण नष्ट गर्न कपडासमेत जलाइएको आरोप लगाउँदै घटनालाई हत्या नै भएको दाबी गरेको छ।

रोशनीका मामा प्रदीप चौधरीले घटनाको प्रकृति हत्या जस्तो देखिएको बताउँदै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रहरी अहिले घटनाका सबै पक्षमा अनुसन्धान गरिरहेको छ।