निर्माता विनोद पौडेलले आफ्नो आगामी चलचित्र ‘अभिमन्यु: च्याप्टर १’लाई सानो सिनेमा भनेर पूर्वानुमान नगर्न दर्शक र समीक्षकलाई आग्रह गरेका छन्। उनीका अनुसार कुनै पनि चलचित्र ठूलो वा सानो कास्टिङ वा बजेटले होइन, रिलिजपछि दर्शकको साथ र बक्सअफिस कमाइले निर्धारण गर्छ।
उनले स्पष्ट पारे, “सिनेमा सानो–ठूलो भन्नेजस्तो कुरा दर्शकको प्रतिक्रियामा निर्भर हुन्छ। धेरै कमाइ गर्ने सिनेमा ठूलो, कम कमाइ गर्ने सानो—बुझाइ यति हो।” कास्टिङ र कजेटका आधारमा फिल्मलाई कमजोर ठहराउने प्रवृत्ति गलत भएको उनको तर्क छ।
पौडेलको अघिल्लो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ डेढ करोडको लागतमा बनेको थियो। तर यसले नेपाली बक्सअफिसमा मात्र ४६ करोड ८० लाखभन्दा बढी कमाइ गरेर सफलता हासिल गर्यो। यही उदाहरण दिँदै उनले ‘अभिमन्यु: च्याप्टर १’प्रति विश्वस्तता व्यक्त गरेका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा बनेको ‘अभिमन्यु: च्याप्टर १’ मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ। यसमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
सुशान्त गौतमले निर्देशन गरेको यस चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन्। निर्माण टिममा निर्माता विनोद पौडेल र गुञ्जन गिरी साथमा सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
शरद महतोको सिनेमाटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादनले फिल्मलाई प्राविधिक रूपमा बलियो बनाएको निर्माण पक्षको विश्वास छ।
‘अभिमन्यु: च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा नेपालसहित भारत र विश्वव्यापी रूपमा रिलिज हुन तयारी अवस्थामा छ।







प्रतिक्रिया