जनकपुरधाम । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधीन श्री राम–जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको शुक्रबार विहान स्थलमै पुगेर निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्रीद्वयले मधेश प्रदेश सरकारका पदाधिकारी, खेलकुद मन्त्रालयका प्रतिनिधि तथा खेलकुद परिषदका सदस्यहरूसँग रंगशाला निर्माणको हालसम्मको प्रगतिबारे विस्तृत जानकारी लिएका छन्।
निरीक्षणपछि खेलकुद मन्त्री गुप्ताले ११औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमै आयोजना हुने सम्भावना रहेका कारण आवश्यक भौतिक संरचना यथासम्भव छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार रंगशाला निर्माणका कागजी कार्य पूर्ण भइसके पनि केन्द्रको अर्थ मन्त्रालयमा प्रक्रिया अल्झिएको जानकारी प्राप्त भएको छ। उनले काठमाडौं फर्किएलगत्तै बाँकी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताए।
मन्त्री गुप्ताले जनकपुरधाम र नारायणी क्षेत्र मात्रै ११औँ राष्ट्रिय खेलकुदका सम्भावित विकल्प भएकाले जनकपुरको रंगशाला समयमै निर्माण सम्पन्न हुनु अत्यावश्यक रहेको स्पष्ट पारे। यसपछि मन्त्री गुप्ता र घिसिङ सिरहा–धनुषा जोड्ने कमला पुलको निरीक्षणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।







प्रतिक्रिया