विराटनगर । मोरङमा तीन महिनाको अन्तरालमा दुई बालिकाको नग्न अवस्थामा शव भेटिएको घटनाले स्थानीय त्रसित बनेका छन्। एक घटनामा बालिकाको पहिचानै खुल्न सकेको छैन भने अर्को घटनामा हत्यारा पत्ता लगाउन प्रहरीले अहिलेसम्म कुनै प्रगति जनाउन सकेको छैन।
पहिलो घटना – असार २८
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारको झाडीमा १४–१५ वर्ष जस्ती देखिने एक अज्ञात बालिकाको शव भेटिएको थियो। शव सडेर किरा परिसकेको, दुर्गन्ध फैलिएर मात्र स्थानीयले हेर्न जाँदा घटना पत्ता लागेको थियो। शव छेउमै कपडा र चप्पल भेटिए पनि बालिकाको परिचय खुल्न सकेन।
चार महिनासम्म खोजी गर्दा पनि नातेदार वा हराइको उजुरी नआएपछि बेवारिसे शव भन्दै विराटनगर महानगरलाई अन्त्येष्टि गराउन पत्र पठाइएको प्रहरीले बताएको छ। प्रहरीको अनुमानमा ती बालिका विदेशी—संभवतः भारतीय हुनसक्छिन्।
दोस्रो घटना – कात्तिक ७
मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतम पिङ खेलेको स्थानबाट हराएकी थिइन्। १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनमा टाउको र शरीर छुट्टिएको, कपडा नभएको अवस्थामा उनको शव भेटियो। घट्नास्थल अत्यन्त संवेदनशील अवस्थाको थियो, तर प्रहरीले अहिलेसम्म कोही आरोपी पहिचान गर्न सकेको छैन।
अंशुको हत्या प्रकरणमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी संयुक्त रूपमा अनुसन्धानमा खटिए पनि प्रगति न्यून छ। अंशु घर नजिकै पिङसम्म पुगेको देखिन्छ, तर जंगलसम्म कसरी पुर्याइयो भन्ने अझै रहस्य नै छ। मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान थप चुनौतीपूर्ण बनेको प्रहरीले बताएको छ।
उस्तै प्रकृति, उस्तै शंका
दुवै घटनामा शव नग्न, कपडा टाढा–नजिक, र वातावरणबाट बलात्कारपछि हत्या भएको प्रारम्भिक शंका बलियो छ। तर शव अत्यधिक सडेका कारण मेडिकल रिपोर्टले यौन हिंसा पुष्टि गर्न सकेको छैन।
मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालले मेडिकलले पुष्टि नगरेपछि अन्य प्रमाण र बयानका आधारमा अनुसन्धान अघि बढाइएको बताइन्।
उनका अनुसार अज्ञात बालिकाको डिएनए रिपोर्ट सुरक्षित राखिएको छ, तर पहिचान र अपराधी दुवै अज्ञात नै छन्।
अंशुको शव धरानमै, परिवारको अडान कडा
अंशुको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नै राखिएको छ।
आफन्तले भने, “हत्यारा पक्राउ नपर्दासम्म शव बुझ्दैनौं,” भन्दै अडान लिएपछि अन्त्येष्टि प्रक्रिया अघि बढ्न सकेको छैन।
दुवै घटनाले समाजमा बालिका सुरक्षा, प्रहरी अनुसन्धान र सीमा क्षेत्रका अपराध जोखिमबारे गम्भीर प्रश्न उठाएको छ।







प्रतिक्रिया