Department of Customs Nepal ले Nepal National Single Window (एनएनएसडब्लु) प्रणालीमार्फत ट्रान्सपोर्ट इन्फर्मेसन भेरिफिकेसन (टीआईभी) घोषणा गर्न सकिने व्यवस्था लागू गरेको छ। विभागले सबै भन्सार कार्यालयलाई परिपत्र जारी गर्दै टीआईभीसम्बन्धी घोषणा अब एनएनएसडब्लु पोर्टलमार्फत पनि गर्न सकिने जानकारी दिएको हो।
विदेशबाट नेपाल आउने वा नेपालबाट बाहिर जाने सामान कुन गाडी वा कन्टेनरमा आयो, कहाँबाट आयो, कति सामान छ, कसले ल्यायो र कुन भन्सार हुँदै जाने हो भन्ने ढुवानीसम्बन्धी विवरण भन्सारमा घोषणा गर्नुपर्ने हुन्छ। यही विवरणलाई डिजिटल रूपमा दर्ता र प्रमाणीकरण गर्ने प्रक्रियालाई टीआईभी भनिन्छ।
अब यो प्रक्रिया अनलाइनमार्फत गर्न सकिने भएपछि ढुवानी तथा भन्सार प्रक्रिया थप सहज, छिटो र पारदर्शी हुने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागको सूचना प्रविधि प्रणाली शासन तथा विकास शाखाले २०८३ वैशाख २३ गते जारी गरेको सूचनाअनुसार विभागको वैशाख १७ गतेको निर्णयपछि टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले एनएनएसडब्लु पोर्टलमार्फत टीआईभी घोषणा गर्न सक्नेछन्। साथै, म्यानुअल तथा ई–पेमेन्ट दुवै माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको विभागले जनाएको छ।
विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई एनएनएसडब्लु पोर्टल प्रयोग गरी टीआईभीसम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, विभागको आधिकारिक वेबसाइटमा टीआईभी मोड्युलको लिंक थप गरिएको र क्यूआर कोड स्क्यान गरेर समेत डिक्लेरेशन गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।







प्रतिक्रिया