काठमाडौं — स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ।
शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइँदैछ।
यस कार्यक्रमका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। शाखाले अभिभावकहरूलाई नजिकको खोप केन्द्र वा स्वास्थ्य चौकीमा पुगेर बच्चाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।
सरकारले सन् १९९३ (वि.सं. २०५०) देखि भिटामिन ‘ए’ क्याप्सुल र वि.सं. २०५६ देखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको हो। बालबालिकामा कुपोषण र जुकाको संक्रमणको जोखिम कम गर्न यो कार्यक्रम प्रभावकारी रहेको स्वास्थ्य शाखाले जनाएको छ।
अर्को चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने भएको छ।







प्रतिक्रिया