आगामी बजेट जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित हुने अर्थमन्त्री वाग्लेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी बजेट आम नागरिकको सामाजिक जीवनस्तर सुधारमा केन्द्रित हुने बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आर्थिक चुनौती समाधानका लागि उद्यमशीलता, स्वदेशी उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकता दिइने स्पष्ट पारे।

उनका अनुसार पूँजी विकास, रोजगारी सिर्जना र मूल्यवृद्धि नियन्त्रण आगामी बजेटका मुख्य प्राथमिकता हुनेछन्। साथै, उद्यमशीलताको विकासमार्फत सबल अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनले बताए।

मन्त्री वाग्लेले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरे। रोजगारी सिर्जना सरकारको प्रमुख लक्ष्य रहेको पनि उनले दोहोर्‍याए।

छलफलमा इमानको प्रतिनिधिमण्डलले सञ्चारमाध्यमहरूको विकासका लागि सरकारले सन्तुलित र समावेशी नीति ल्याउनुपर्ने माग गरेको थियो।