निर्वाचन आचारसंहिता उल्लंघनमा ७५ जनासँग स्पष्टीकरण माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा ७५ जनालाई स्पष्टीकरण सोधिएको छ। तीमध्ये ५२ जनाले जवाफ दिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा ७५ वटा प्रकरणमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागिएको हो।

२१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आयोगले जारी गरेको आचारसंहिताविपरीत कार्य भएको पाइएपछि स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको हो। ५२ जनाले जवाफ दिए पनि बाँकीको उत्तर आउन बाँकी रहेको आयोगले जनाएको छ।

जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र विषयमा तथा प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।

अनुगमन अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने, उल्लंघनका घटनाबारे जानकारी संकलन गर्ने र आवश्यक परे स्पष्टीकरण माग गर्ने काम गर्दै आएका छन्।

आयोगका अनुसार आचारसंहिताको प्रभावकारी परिपालना सुनिश्चित गर्न केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित छन्।