नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घर-घरमा पुगिरहेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत नेकपा एमालेले घरदैलो अभियानलाई तीव्र बनाएको छ। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मतदातालाई सम्बोधन गरिएको पत्र लिएर कार्यकर्ताहरू २९ वटै वडाका टोल–टोलमा पुगिरहेका छन्।

प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार निर्वाचन क्षेत्रका प्रत्येक घरमा अध्यक्षको सन्देश पुर्‍याउने अभियान सञ्चालन भइरहेको छ। घरदैलोका क्रममा अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र तथा विभिन्न जनवर्गीय संगठनका छुट्टाछुट्टै प्रतिबद्धता पत्र वितरण गर्दै मतदातासँग प्रत्यक्ष संवाद भइरहेको उनले बताए।

‘राष्ट्रिय निर्माणका लागि मतदान’ गर्न आह्वान

अध्यक्ष ओलीको पत्रमा फागुन २१ गतेलाई नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने महत्वपूर्ण दिनका रूपमा उल्लेख गर्दै निर्वाचनमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ। पत्रमा वर्तमान अवस्थामा मुलुक गम्भीर संकटमा रहेको उल्लेख गर्दै समाज र परिवारमा विभाजन बढ्दै गएको चिन्ता व्यक्त गरिएको संयोजक दाहालले बताए।

‘एकतामा बाँधिएको हाम्रो समाजलाई विभाजनतर्फ धकेलिँदै छ। परिवार कमजोर हुँदा समाज र राष्ट्र नै कमजोर हुने अवस्था आउँछ,’ दाहालले उद्धृत गर्दै भने, ‘त्यसैले राष्ट्रिय निर्माणका लागि एमालेका पक्षमा मतदान गर्न अध्यक्षले सबै मतदातालाई आग्रह गर्नुभएको छ।’

दमकमा दोस्रो चरणको घरदैलो सम्पन्न

दमक नगरपालिकाको वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ। बाँकी आठ वडामा पनि अन्तिम चरणको अभियान सञ्चालन भइरहेको जनाइएको छ। केन्द्रीय कमिटीदेखि प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा र टोल कमिटीसम्मका पदाधिकारीहरू समूहगत रूपमा घरदैलो कार्यक्रममा सहभागी भइरहेका छन्।

कमल, गौरादह र गौरीगञ्जमा पनि अभियान

कमल गाउँपालिका अन्तर्गत वडा नम्बर ५ को सिम्ले क्षेत्रमा घरदैलो सम्पन्न भएको कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिए। वडा नम्बर १ मा व्यक्तिगत भेटघाट, वडा नम्बर २ को देवीचौन र ज्योतिनगर क्षेत्रमा कार्यक्रम सम्पन्न भएको छ। फाल्गुनन्द, शान्ति र संगम टोलमा सामूहिक घरदैलो गरिएको छ भने वडा नम्बर ६ को मैनाखाता र मंगलवारे तथा वडा नम्बर ७ को बाह्रघरे र झर्का क्षेत्रमा पनि अभियान सम्पन्न भएको छ।

त्यसैगरी गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका सबै वडामा घरदैलो अभियान तीव्र रूपमा अघि बढिरहेको जनाएको छ। गौरादह नगर कमिटीका निर्वाचन परिचालन संयोजक गजेन्द्र घिमिरेका अनुसार क्षेत्रीय योजना अनुरूप सबै टोलमा कार्यकर्ता परिचालन गरिएको छ।

एमालेले घरदैलो अभियानलाई अन्तिम चरणमा पुर्‍याउँदै आगामी चरणमा थप संगठन परिचालन गर्ने योजना बनाएको जनाएको छ।