राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई संसदबाट हटाउने योजनाकार दाङमै रहेको आरोप लगाएका छन्।
शुक्रबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो योजनाकार यसपटक दाङबाटै चुनाव लडिरहेको दाबी गरे।
‘संसदबाट निकाल्यौ, जनताको मनबाट निकालेर देखाऊ’
लामिछानेले भने,
‘चितवनका जनताले दोस्रोपटक सबैभन्दा बढी मत दिएर पठाएका थिए। सुशासन कायम र भ्रष्टाचारीलाई कोच्दै गरेको सरकारलाई छलछाम गरी, बिचौलियासँग मध्यरातमा सम्झौता गरेर संसदबाट निकाल्ने कलाकारहरू यहीँ छन्। उठेका होलान् यसपटक पनि। तिनले सुन्ने गरी भन्न चाहन्छु— संसदबाट निकाल्यौ, जनताको मनबाट निकालेर देखाऊ।’
उनले आफूले अघिल्लो कार्यकालमा धेरै काम गर्न नपाएको उल्लेख गर्दै यसपटक अवसर पाए परिणाम देखाउने प्रतिबद्धता जनाए।
‘मलाई अप्ठ्यारो आँखाबाट आँसु झार्दै जनताले मेरो पक्षमा हस्ताक्षर गरेका थिए। त्यो विश्वास र भरोसा कहिल्यै बिर्सने छैन,’ उनले भने।
दाङ ‘राजनीतिको उर्वर भूमि’
दाङलाई राजनीतिक रूपमा सचेत र उर्वर भूमि भन्दै उनले ‘षड्यन्त्रकारीहरू’ यसपटक चुनाव हार्ने दाबी गरे।
थारू अधिकारको मुद्दा उठाउने प्रतिबद्धता
लामिछानेले थारू समुदायको पहिचान र अधिकारका विषयमा पनि बोल्दै भने,
‘थारू जाति होइन, सभ्यता हो जसको सुरूआत दाङमा भएको देखिन्छ। वर्षौंको सभ्यताको संरक्षण कसरी गर्नुपर्छ त्यसको ठेक्का कसैले लिनुपर्दैन। रास्वपालाई थाहा छ।’
उनले थारू समुदायको सांस्कृतिक संरक्षण र अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।







प्रतिक्रिया