‘रमिताको पिरती’ प्रदर्शन रोक्न उच्च अदालत पाटनमा रिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चलचित्र **‘रमिताको पिरती’**को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ। अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त निवेदन दर्ता भएको हो।

अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै मुद्दा दायर गरेका छन्।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ।

निवेदकहरूले फिल्मले पुरुषप्रति घृणा सिर्जना गर्ने, लैंगिक रूपमा विभेदकारी कथा प्रस्तुत गरेको र सामाजिक सद्भाव तथा भाइचाराको सम्बन्धमा खलल पुर्‍याउने सामग्री समेटेको दाबी गरेका छन्। यसले सम्पूर्ण पुरुष समुदायलाई असर गर्ने र सामाजिक वितृष्णा फैलाउने भन्दै प्रदर्शन रोक्न माग गरिएको छ।

सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने सामग्री हुँदाहुँदै निर्माण अनुमति र प्रदर्शन अनुमति दिइएको आरोप पनि रिटमा उल्लेख छ।

आना शर्माको शीर्ष भूमिका रहेको उक्त फिल्म हाल देशभरका हलमा प्रदर्शन भइरहेको छ।