राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्।
जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले स्वागत गरेका हुन्।
पार्टी प्रवेश गरेसँगै शर्माले रास्वपामा ‘दागैदाग’ भएकाहरूको बिगबिगी रहेकाले आफूले पार्टी परित्याग गरेको बताइन्। प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेन–जीको भावना बोक्ने र सुशासनमा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’
उनले नेपाली कांग्रेस ८० वर्षको विरासत बोकेको मात्र नभई मधेसको आवाजलाई प्राथमिकतामा राखेको दाबी गरिन्। वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएको उल्लेख गर्दै मधेसी जनताले कांग्रेसलाई साथ दिनुपर्ने बताइन्।
मैथिली भाषामा सम्बोधन गर्दै उनले विगतमा मधेसले नेताहरूलाई भोट दिए पनि नेताहरूले मधेसलाई निराश बनाएको आरोप लगाइन्। यसपटक बदलिएको कांग्रेसलाई समर्थन गर्न र योग्य उम्मेदवार छान्न मतदातालाई अपिल गरिन्।







प्रतिक्रिया