गोरखा – सरकारले तोकेको पारिश्रमिक र सेवा–सुविधा माग्दै गोरखा अस्पतालका नर्सहरू आन्दोलनमा उत्रिएका छन्। शुक्रबार बिहान १० बजेबाट १२ बजे सम्म नर्सिङ सेवा बन्द गरी अस्पताल परिसरमा प्रदर्शन गरिएको थियो।
नर्सिङ अफिसर रीना थापा का अनुसार, “‘न्यायगत तलब–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ जस्ता नारा लेखिएका प्ले कार्डसहित हामीले प्रदर्शन गरेका हौं। यो आन्दोलन नर्सिङ एसोसियसनको देशव्यापी आन्दोलन सँग समन्वयमा गरिएको हो।”
थापाले भने, “आजदेखि १८ कात्तिकसम्म बिहान १० देखि १२ बजे नर्सिङ सेवा बन्द गर्ने कार्यक्रम छ। यसैबीच हाम्रो माग पुरा नभए आन्दोलन जारी रहनेछ।”
नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा–सुविधा सरकारी मापदण्डअनुसार लागू गर्ने निर्णय गरेको थियो। न्यूनतम पाँचौं तहको तलब ३४,७३० रूपैयाँ र वरिष्ठ पाचौं तहको ३७,७४३ रूपैयाँ तोकिएको छ। तर अस्पतालका नर्सहरूले तोकिएको भन्दा कम तलब पाएको गुनासो गरेका छन्।
नर्सहरूले जोखिम भत्ता, सार्वजनिक बिदामा ड्युटी गर्दा छुट्टै भत्ता, रातको समयमा ड्युटी गर्दा भत्ताको व्यवस्था लगायतका माग राखेका छन्।







प्रतिक्रिया