काँग्रेसले आज ऐतिहासिक निर्णय गर्दैछ : महामन्त्री प्रदीप पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले आज ऐतिहासिक निर्णय गर्न लागेको बताएका छन्।

निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुगेका महामन्त्री पौडेलले आज बस्ने बैठकले लिने निर्णयले देशभर तरंग ल्याउने दाबी गरे। उनले विशेष महाधिवेशनमा गरिएको प्रतिबद्धताअनुसार काँग्रेसको नेतृत्व परिवर्तनसँगै देशको नेतृत्व पनि लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउने तयारी रहेको बताए।

महामन्त्री पौडेलले मधेशको आवाजलाई प्राथमिकतामा राख्दै काँग्रेस सभापति गगन थापालाई सर्लाही पठाइएको स्पष्ट पारे। यस कदमले मधेशका मुद्दाहरूलाई अगाडि ल्याउने र तिनको समाधानमा सहयोग पुग्ने उनको भनाइ थियो।

उनले भने, “नेपालको जग मधेश हो। हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौं। मधेशको जगबाट देश निर्माण गर्न चाहन्छौं।”

देशले स्पष्ट योजना र सक्षम नेतृत्व खोजिरहेको उल्लेख गर्दै पौडेलले काँग्रेस मर्यादित र जिम्मेवार ढंगले आफ्ना एजेन्डा मतदातासमक्ष राख्दै निर्वाचनमा जाने तयारीमा रहेको पनि बताए।