चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि जडान गरिएका सातवटा क्यामेरामा क्षति पुगेको छ। पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन् भने दुई क्यामेरा हात्तीले फुटाएका हुन्।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार थुम्सी क्षेत्रमा राखिएका तीन र तमासपुर क्षेत्रमा राखिएका दुई क्यामेरा हराएका छन्। यस्तै, टाइगर टप्स क्षेत्रमा जडान गरिएका दुई क्यामेरा हात्तीले फुटाएको उनले जानकारी दिए। बाघ गणनाका लागि करिब २८६ ग्रिडमा क्यामेरा राखिएको थियो।
पहिलो चरणको गणना सम्पन्न गरी क्यामेरा संकलन गर्ने क्रममा विभिन्न स्थानमा क्यामेरा हराएको र क्षति भएको थापा मगरले बताए। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर बाघ गणना सुरु गरिएको हो। पहिलो चरणमा त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्र समेटिएको थियो।
हाल दोस्रो चरणको बाघ गणना सुरु गरिएको छ। यस चरणमा १३ वटा क्याम्प बनाएर गणकहरू परिचालित छन्। सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर र हर्दासम्म, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै शिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरिएको छ। यस क्षेत्रलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना भइरहेको छ।
दोस्रो चरणमा १५० जना गणक खटिएका छन्। एउटा चरणमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने व्यवस्था रहेको थापा मगरले बताए। चितवन–पर्सा ब्लकमा कुल ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदैछ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनाअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।







प्रतिक्रिया