तरलता व्यवस्थापन गर्न बजारबाट २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको बैंकिङ प्रणालीमा अहिले अत्यधिक तरलता, अर्थात् पैसा थुप्रिएको अवस्था देखिएको छ। यही अवस्था व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ खिच्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले ५६ दिनका लागि ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै यो रकम उठाउन लागेको हो। यसका लागि आजै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ, जहाँ ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत प्रस्ताव पेश गर्न सक्नेछन्।

ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोलबाटै तय हुनेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

संकलित रकमको साँवा र ब्याज भुक्तानी आगामी जेठ २० गते हुने छ। यो कदमले बजारमा रहेको अतिरिक्त नगद व्यवस्थापन गर्न र वित्तीय स्थायित्व कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।