सुनको भाउ लगातार घट्दो, एक सातामै तोलामा ३४ हजार रुपैयाँ गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अहिले उल्लेख्य रूपमा घटेको हो। यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

पश्चिम एसियामा बढेको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा अमेरिकी डलरको माग बढेको छ। डलरको मूल्य बढेसँगै सुन बिक्री गरेर डलर जोहो गर्ने प्रवृत्ति बढ्दा सुनको भाउमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यस्तै, तेलको मूल्यवृद्धिले विश्वभर महँगी बढाउने र ब्याजदरमा दबाब सिर्जना गर्ने भएकाले पनि सुनचाँदीको मूल्य घट्न पुगेको हो।

सोमबार चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४२५ रुपैयाँमा झरेको छ।