रूपन्देहीका उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन माग गरेका छन्। भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ।
पर्यटन क्षेत्रमा झण्डै एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए।
लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य मानिन्छन्। ती क्षेत्रको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि प्रभावकारी पहल हुन नसक्दा पर्यटन प्रवर्द्धनमा अपेक्षित प्रगति हुन नसकेको व्यवसायीहरूको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवर्द्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए। उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास हुन सक्ने उल्लेख गर्दै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए समग्र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।
नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
उनका अनुसार भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र अझ सशक्त बन्न सक्छ। विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तर्राष्ट्रिय व्यापार विस्तारमा समेत सहयोग पुग्ने उनको धारणा छ।
निजी क्षेत्रका प्रतिनिधिहरूले स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस पहल गर्ने अपेक्षा गरेका छन्। उनीहरूका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग–व्यापारमा पनि ऊर्जा थपिनेछ।









प्रतिक्रिया