कैद सजाय भुक्तानपछि दीपक मनाङे रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर बुधबार रिहा भएका छन्।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय अवधि पूरा गरेपछि रिहा भएका हुन्।

उक्त मुद्दामा दोषी ठहरिएसँगै उनी गण्डकी प्रदेशसभाको सदस्य पदबाट पनि निलम्बित भएका थिए। कात्तिक २०८१ मा जेल गएका मनाङेलाई २० प्रतिशत सजाय छुट दिनेगरी काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

मनाङेले मुलुकी ऐन दण्ड सजायको धारा ४१ (क) अनुसार २० प्रतिशत सजाय छुटका लागि निवेदन दिएका थिए। उक्त व्यवस्थाअनुसार अन्तिम फैसलाको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद तथा जरिवानामा २० प्रतिशत छुट पाउने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार उनलाई सजायमा छुट दिइएको हो।

यसअघि सर्वोच्च अदालतले उच्च अदालत पाटनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेपछि मनाङे कात्तिक २७ गते सानोभर्‍याङबाट पक्राउ परेका थिए।

मनाङे गण्डकी प्रदेशसभाको दुई कार्यकालमा झण्डै पाँच वर्ष मन्त्री बनेका थिए।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो। उक्त घटनामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।

त्यसपछि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी गण्डकी प्रदेशमा पटक–पटक मन्त्री बनेका थिए।

यसअघि मनाङेले २ वर्ष ८ महिना जेल सजाय भुक्तान गरिसकेका थिए। पछिल्लो पटक उनलाई २ वर्ष ४ महिना कैद बस्नुपर्ने थियो, तर २० प्रतिशत सजाय छुटका कारण करिब एक वर्ष जेल बसेपछि उनी रिहा भएका हुन्।