कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल परिस्थितिमा पनि निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
विभिन्न निकायबाट काजमा निर्वाचन आयोगमा खटिएका कर्मचारीहरूको मंगलबार आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आभार व्यक्त गरेका हुन्।
भण्डारीले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा ‘निर्वाचन सम्भव हुन्छ कि हुँदैन’ भन्ने प्रश्न व्यापक रूपमा उठेको स्मरण गरे। भदौ २३ र २४ गते भएका घटनापछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले निर्वाचन घोषणा भएको एक महिनासम्म पनि राजनीतिक दलहरू एकै ठाउँमा बस्न सक्ने अवस्था नरहेको बताए।
उनका अनुसार त्यस अवस्थामा निर्वाचन आयोग नेपालले नै दलहरूलाई एकै ठाउँमा राखेर संवादको वातावरण तयार पारेको थियो।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिले निर्वाचन सम्पन्न गरेर परिणाम ल्याउन आयोग सफल भएको उल्लेख गर्दै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए।
आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा आएका कर्मचारीहरूको ‘टिमवर्क’ का कारण तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सम्भव भएको बताए।
निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारीकै प्रयासले देशभरका २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी केन्द्रमा सामान्य समस्या समेत नआइकन निर्वाचन सम्पन्न भएको उनले बताए।
प्रशासन शाखा प्रमुख तथा सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचनका लागि विभिन्न निकायबाट १४१ जना कर्मचारी आयोगमा काजमा खटिएका थिए। निर्वाचन सम्पन्न भएसँगै ती कर्मचारीहरूको काज फिर्ता प्रक्रिया सुरु भएको उनले जानकारी दिए।







प्रतिक्रिया