प्रतिनिधिसभा निर्वाचनको अधिकांश क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। संखुवासभा र धनुषा क्षेत्र नम्बर १ बाहेक अन्य सबै क्षेत्रमा परिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ।
संखुवासभामा भने मतगणना जारी रहेको छ। पछिल्लो परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्की अग्रस्थानमा छन्। उनले १३ हजार ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङमा शेर्पाले ११ हजार ७८९ मत प्राप्त गरेका छन्।
हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जित्दै स्पष्ट अग्रता बनाएको छ। नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै १८ सिट जितेको छ भने नेकपा (एमाले) ८ सिटमा सीमित भएको छ। संखुवासभामा एमाले उम्मेदवार अग्रस्थानमा रहेकाले उसको सिट संख्या ९ पुग्ने सम्भावना देखिएको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ सिट जितेको छ।
उता धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि प्रतिस्पर्धाको अवस्था जटिल बनेको छ। यहाँ नेपाली कम्युनिस्ट पार्टीका मातृका प्रसाद यादव अग्रस्थानमा छन्। तर घण्टी चुनाव चिन्हमा यादवको भन्दा झण्डै दोब्बर मत परेको बताइएको छ।
उम्मेदवारी खारेजीविरुद्ध किशोरी साह कमलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सर्वोच्चले सोमबार यसबारे कारण देखाऊ आदेश जारी गरेको छ। उक्त मुद्दामा आगामी फागुन २९ गते सुनुवाइ हुने भएकाले त्यसपछि मात्रै अन्तिम परिणामको टुंगो लाग्ने बताइएको छ।
यस निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पाँचौँ स्थानमा देखिएको छ। उक्त पार्टीले भोजपुर, खोटाङ र सुनसरी–१ मा जित हासिल गरेको छ। इलाम र पाँचथरमा भने कडा प्रतिस्पर्धा गर्दै पनि सिट गुमाएको बताइएको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाबाट एक सिट जितेको छ।
प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकतर्फ मतगणना जारी रहेको छ। हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ४५ लाख ६४ हजार ३१४ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १५ लाख ३० हजार ३०९ मत ल्याएको छ भने नेकपा (एमाले)ले १२ लाख ७६ हजार ४५१ मत प्राप्त गरेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ६ लाख ८७ हजार १३६ मत ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ५३३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २ हजार २०३ मत ल्याएको छ। यस आधारमा राप्रपाले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कायमै रहेको देखिएको छ।







प्रतिक्रिया