शेखर कोइरालालाई ४२ हजार भन्दा बढी मतले हराएकी रूविना आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ–६ का मतदाताले यसपटक प्रतिनिधि सभामा नयाँ विकल्प रोजेका छन्। लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रूविना आचार्यले भारी मतान्तरसहित विजय हासिल गरेकी छन्।

निर्वाचन कार्यालयका अनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत पाए। आचार्यले कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरिन्।

विराटनगरमै जन्मिएकी र हुर्किएकी आचार्यले उच्च शिक्षा भने काठमाडौंमा हासिल गरेकी हुन्। उनलाई पुराना दलका केही कार्यकर्ताले ‘टुरिष्ट उम्मेदवार’ भन्दै आलोचना गरेका थिए। तर मोरङ–६ का मतदाताले उनलाई नै आफ्नो प्रतिनिधि बनाएर संसद पठाएका छन्।

विराटनगर–४ मा २०५२ सालमा जन्मिएकी आचार्यले प्रारम्भिक शिक्षा इडेन नेशनल स्कुल र मेरील्यान्ड कलेजबाट हासिल गरेकी छन्। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजबाट बीबीए र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेकी छन्।

२०७४ सालको संघीय निर्वाचनबाट राजनीतिक यात्रा थालेकी आचार्य त्यसबेला विवेकशील साझा पार्टीमार्फत काठमाडौं क्षेत्र नं.२ मा चुनावी रणनीति निर्माण र स्वयंसेवक परिचालनमा सक्रिय थिइन्। पछि विवेकशील साझा युवा संगठनको बागमती प्रदेश समितिमा नेतृत्व गर्दै केन्द्रीय सदस्यसमेत बनेकी थिइन्। विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण भएपछि उनी रास्वपाको उम्मेदवारका रूपमा मोरङ–६ बाट चुनावी मैदानमा उत्रिएकी थिइन्।

आचार्य चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले चलाएको अभियान, कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’ तथा महिला हिंसाविरुद्धका विभिन्न अभियानमा पनि सक्रिय रहँदै आएकी छन्।

निर्वाचन जितपछि उनले शिक्षा, स्वास्थ्य, रोजगारी, अधिकार र समानताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताइन्।

२०४८ सालयता मोरङ–६ मा आठ पटक निर्वाचन भएकोमा सात पटक मतदाताले नयाँ विकल्प रोजेका छन्। यही चलायमान मतदाताको स्वभावका कारण यसपटक पनि नयाँ शक्तिका रूपमा रास्वपाकी रूविना आचार्यले सिंहदरबार यात्रा तय गरेकी छन्।