भक्तपुर–२ को परिणाम सम्मानपूर्वक स्वीकार गर्छु : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले भक्तपुर–२ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

उक्त क्षेत्रमा एमालेका तर्फबाट उम्मेदवार रहेका बस्नेतले यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले त्यसलाई स्वीकार गरेको बताएका हुन्।

निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीलाई उनले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

बस्नेतले सूर्य चिन्हमा मतदान गरी आफूलाई विश्वास गर्ने सबै मतदाता तथा चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने कहिल्यै कमजोर नहुने बताएका छन्। आगामी दिनमा आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने उनले स्पष्ट पारेका छन्।

बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्। साथै जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन भक्तपुरको विकास र जनताको सेवामा समर्पित रहने बताएका छन्।

भक्तपुर–२ मा मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो अपडेटअनुसार बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरेका छन् भने विजयउन्मुख रास्वपाका उम्मेदवार खत्रीले ३४ हजार ७०२ मत प्राप्त गरेका छन्।